Advertisement

राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब

साझालेख साझालेख 2026-11-24 3 min Read
राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब

एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ।

समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ।

नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भने यूएईलाई पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको थियो।

पाकिस्तान ए भने उत्कृष्ट लयमा छ। उसले भारत ए र यूएई दुवैलाई पराजित गरिसकेको छ। बलियो टोलीका रूपमा देखिएको पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज हुने छैन।

मंगलबार बिहान ११ः४५ बजे भारत ए र यूएईबीच खेल हुनेछ। त्यसपछि दिउँसो ३ः४५ बजे नेपालले पाकिस्तान एसँग प्रतिस्पर्धा गर्नेछ।

यूएईले भारत एलाई हराएमा नेपालको समीकरण सहज बन्नेछ। त्यस अवस्थामा पाकिस्तान ए र नेपाल दुवैको समान चार अंक हुनेछ भने भारत ए र यूएईको दुई–दुई अंक हुनेछ। नेपालले पाकिस्तानलाई हराएमा रनरेटको हिसाब गर्नु नपरी दुवै टोली सेमिफाइनल पुग्नेछन्।

तर भारत ए विजयी भएमा उसको पनि चार अंक हुनेछ। यस्तो अवस्थामा सेमिफाइनल पुग्ने टोलीको टुंगो नेट रन रेटबाट लाग्नेछ। हाल भारत ए २.५८० र पाकिस्तान ए १.०९० को नेट रनरेटमा छन् भने नेपालको नेट रनरेट माइनस २.४६१ छ। त्यसैले पाकिस्तानलाई हराए पनि नेपालले ठूलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ।

भारत एले यूएईलाई हराउँदा पाकिस्तान एसँग नेपाल पराजित भएमा पाकिस्तान ए र भारत ए सेमिफाइनल पुग्नेछन्। नेपालको प्रतियोगिता त्यहीँ समाप्त हुनेछ।

यूएईले भारत एलाई हराए पनि पाकिस्तानसँग नेपाल पराजित भएमा पाकिस्तान ए समूह विजेता बन्नेछ। दोस्रो स्थानका लागि नेपाल, भारत ए र यूएईबीच प्रतिस्पर्धा हुनेछ। हालको नेट रनरेटका आधारमा भारत ए अगाडि रहेकाले नेपाललाई पाकिस्तानविरुद्ध जित आवश्यक छ।

भारत ए र यूएईबीचको खेल वर्षाका कारण रद्द भएमा भारत ए तीन अंकमा पुग्नेछ। त्यस अवस्थामा पनि पाकिस्तानलाई हराएर चार अंक पुर्‍याउनु नेपालका लागि सेमिफाइनल पुग्ने आधार हुनेछ।

Advertisement

सम्बन्धित खबर