Advertisement
समाज

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

साझालेख साझालेख 2026-11-24 2 min Read
चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ। राजापुर नगरपालिका–१०, मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट ज्यान गएको हो।
 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो। किशोरी बेपत्ता भएपछि परिवारका सदस्यले खोजी गर्दा घरबाट करिब ३०० मिटर टाढा सिमलको झ्याङमा उनको शव फेला परेको थियो।
 

प्रहरीका अनुसार किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव भेटिएको हो। शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ।
 

राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट मानिसको मृत्यु भएको यो दोस्रो घटना हो। यसअघि गत असोज २२ गते राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। उक्त घटनामा संलग्न चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर राखेर एक सातापछि नियन्त्रणमा लिएको थियो।

Advertisement

सम्बन्धित खबर