Advertisement

संसद्मा उच्छृंखल व्यवहार गर्ने सांसदमाथि एक्सन: छानबिन समिति गठन

साझालेख साझालेख 2026-06-02 3 min Read
संसद्मा उच्छृंखल व्यवहार गर्ने सांसदमाथि एक्सन: छानबिन समिति गठन

प्रतिनिधिसभा बैठकमा अमर्यादित र उच्छृंखल व्यवहार प्रदर्शन गर्दै भौतिक क्षति पुर्‍याउने सांसदहरूमाथि कडा कारबाहीको तयारी सुरु भएको छ। जेठ १७ गतेको संसद् बैठकमा भएको हंगामा, तोडफोड र अप्रिय घटनाको विस्तृत अनुसन्धान गर्न सभामुख डोलप्रसाद अर्यालले एक उच्चस्तरीय छानबिन समिति गठन गरेका छन्। यस समितिले घटनाको सम्पूर्ण नालीबेली अध्ययन गरी ७ दिनभित्र आफ्नो प्रतिवेदन सभामुखसमक्ष बुझाउने कार्यादेश पाएको छ। प्रतिवेदन प्राप्त भएलगत्तै दोषी सांसदहरूमाथि प्रतिनिधिसभा नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

सभामुख अर्यालले संसद्लाई दिएको जानकारी अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित यस समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्यको रूपमा रहेका छन्। बैठक समाप्त भएपछि घटनाको मुचुल्का तयार पारिएको र प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम कारबाही अघि बढाउन सचिवालयका कर्मचारीहरूसँग समेत आवश्यक परामर्श गरिएको थियो।

स्मरण रहोस्, आइतबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया चलिरहँदा विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए। विपक्षी दलहरूले नियमावली संशोधनका विषयमा संसदीय समितिमा थप छलफल हुनुपर्ने अडान राखेका थिए। तर, सदनमा दफावार छलफल सकिएर प्रक्रिया अघि बढिसकेको भन्दै सभामुखले विरोधकै बीच प्रक्रिया अगाडि बढाएपछि सांसदहरूबीच हातहालाहाल र घम्साघम्सीको स्थिति सिर्जना भएको थियो। यस अप्रिय घटनाले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको गरिमा र मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको छ भने संलग्न सांसदहरूको चौतर्फी आलोचना भइरहेको छ।

Advertisement

सम्बन्धित खबर