भ्रष्टाचारी र अपराधीलाई ‘कोर्रा हान्ने’ कानुन बनाउन हर्क साम्पाङको प्रस्ताव
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भ्रष्टाचार, बेथिति र दण्डहीनता अन्त्य गर्न अपराधीलाई कडा सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले अहिलेको कानुनी प्रक्रिया लामो र प्रभावकारी नभएको दाबी गरे। अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरे पनि विभिन्न ‘सेटिङ’मार्फत छुट्ने प्रवृत्तिले समस्या झन् बढाएको उनको आरोप थियो।
राईले भ्रष्टाचारी तथा अपराधीलाई सार्वजनिक रूपमा ‘कोर्रा हान्ने’ व्यवस्था सहितको कडा कानुन बनाउनुपर्ने धारणा राखे। उनका अनुसार केवल सोधपुछ र अनुसन्धानबाट मात्र बेथिति नियन्त्रण हुन नसक्ने भएकाले प्रभावकारी तथा कडा सजाय आवश्यक छ।
सांसद राईले देशको सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाए। प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादबारे दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको उनको आरोप थियो।
देशमा सुरक्षा, न्याय र सेवा प्रवाहको अवस्था कमजोर रहेको दाबी गर्दै राईले सर्वसाधारण मात्र नभई सांसदहरूले समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको बताए।
उनको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति भने रास्वपाकी सांसद इन्दिरा राना मगरले आपत्ति जनाउँदै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेकी छन्।