Advertisement

पक्राउ पुर्जीपछि फरार वीरगञ्जका मेयर सिंह एक सातापछि ठोरीबाट नियन्त्रणमा

साझालेख साझालेख 2026-06-02 3 min Read
पक्राउ पुर्जीपछि फरार वीरगञ्जका मेयर सिंह एक सातापछि ठोरीबाट नियन्त्रणमा

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता दिलाएको गम्भीर कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई मंगलबार बिहान करिब ६:०७ बजे पर्साको ठोरी गाउँपालिका–३ स्थित ठोरी रिसोर्टबाट नियन्त्रणमा लिइएको हो। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार उनी लुकेर बसेको गोप्य सूचनाका आधारमा विशेष टोली खटिएको थियो।

गत जेठ १२ गते पर्सा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पुर्जी जारी भएको सूचना बाहिरिएलगत्तै मोबाइल अफ गरेर सम्पर्कविहीन भएका उनी भोलिपल्टै अदालतमा सुटुक्क उपस्थित भएर पुनः फरार भएका थिए। पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालत पुग्दा प्रहरीलाई जानकारी नदिइएको भन्दै प्रहरीले असन्तुष्टि समेत जनाएको थियो। त्यसपछि प्रहरीमाथि सिंहलाई पक्राउ गर्न चर्को दबाब परेको थियो। डीएसपी हरि बस्नेतको नेतृत्वमा खटिएको विशेष टोलीले मेयरको घर खानतलासी गर्नुका साथै उनका स्वकीय सचिव (पीए) सँगको कडा सोधपुछपछि अन्ततः एक सातापछि उनलाई पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, ५६ वर्षीय मेयर सिंहमाथि अब लिखतसम्बन्धी (नागरिकता) कसुरमा कडा अनुसन्धान अघि बढाइनेछ। वि.सं. २०७९ जेठ १० गते जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट मेयरमा निर्वाचित सिंहले २०७५ सालमा नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता दिलाएको रहस्य गत पुसमा बाहिरिएको थियो। सो क्रममा प्रशासनको अभिलेखबाट अनुसूची नै गायब पारिएको भेटिएपछि गृह मन्त्रालयले समेत छुट्टै छानबिन समिति गठन गरेको थियो। सुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रहरीले चौतर्फी जनदबाबपछि गत फागुनमा उनीविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो।

Advertisement

सम्बन्धित खबर