टोकियो । जापानमा चामलको मूल्य र सरकारी भण्डारण नीतिलाई लिएर सरकारभित्र मतभेद चर्किएको छ। यस विवादले कृषिमन्त्री सुजुकी नोरिकाजुको राजनीतिक भविष्यसमेत प्रभावित हुन सक्ने चर्चा सुरु भएको छ।
गत वर्षको चामल अभाव र मूल्यवृद्धिपछि सरकारले बजारमा भण्डारण गरिएको चामल बिक्री गरेको थियो। तर यस वर्ष अवस्था उल्टिएको छ। उत्पादन बढ्दा र माग घट्दा बजारमा चामलको मौज्दात अत्यधिक बढेको छ, जसका कारण मूल्य घट्ने दबाब बढिरहेको छ।
यसबीच सत्तारुढ दलभित्रका कृषि क्षेत्रसँग निकट सांसदहरूले बजार मूल्य जोगाउन सरकारले बिक्री गरिसकेको भण्डारण चामल पुनः खरिद गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। तर प्रधानमन्त्री सानाए ताकाइचीले यस्तो कदमले महँगी नियन्त्रणको प्रयासविपरीत हुने भन्दै असन्तुष्टि जनाएको जापानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
सरकारी तथ्यांकअनुसार गत जुनसम्म निजी क्षेत्रसँग रहेको चामलको मौज्दात करिब २४ लाख ३० हजार टन पुगेको छ, जुन उपयुक्त मानिने स्तरभन्दा धेरै बढी हो।
चामलको मूल्य घट्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। विशेषगरी नयाँ बाली बजारमा आएपछि मूल्य अझ घट्न सक्ने अनुमान गरिएको छ। कृषि क्षेत्रका प्रतिनिधिहरूले किसानको आय जोगाउन तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन्।
यही विषयलाई लिएर आगामी मन्त्रिपरिषद् पुनर्गठनमा कृषिमन्त्री सुजुकीको पद सुरक्षित रहने वा नरहनेबारे पनि जापानी राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख