Advertisement
जापान

उत्तर कोरियाले जापान सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको आशंका

साझालेख साझालेख 2026-08-12 3 min Read
उत्तर कोरियाले जापान सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको आशंका

टोकियो । उत्तर कोरियाले बुधबार बिहान जापान सागरतर्फ ब्यालेस्टिक मिसाइल हुन सक्ने प्रक्षेप्य प्रहार गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ।

जापानी अधिकारीहरूका अनुसार अगस्ट १२ बिहान करिब ६ बजे उत्तर कोरियाको पूर्वी क्षेत्र वोनसान आसपासबाट प्रक्षेप्य प्रहार गरिएको थियो। करिब १० मिनेटपछि उक्त प्रक्षेप्य समुद्रमा खसेको अनुमान गरिएको छ।

हालसम्म मिसाइल जापानको विशेष आर्थिक क्षेत्र (EEZ) भित्र प्रवेश गरेको पुष्टि नभएको रक्षा मन्त्रालयले जनाएको छ। जापान कोस्ट गार्डका अनुसार बिहान साढे ६ बजेसम्म कुनै पानीजहाजमा क्षति पुगेको सूचना प्राप्त भएको थिएन।

दक्षिण कोरियाली सेनाले पनि उत्तर कोरियाले पूर्वी क्षेत्रबाट जापान सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको पुष्टि गर्दै निगरानी र सतर्कता बढाएको जनाएको छ। दक्षिण कोरिया, जापान र अमेरिकाबीच घटनासम्बन्धी सूचनाको आदानप्रदान भइरहेको बताइएको छ।

घटनापछि जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सम्बन्धित निकायलाई मिसाइलसम्बन्धी सूचना तत्काल संकलन तथा विश्लेषण गर्न निर्देशन दिएकी छन्। उनले सर्वसाधारणलाई सही र छिटो सूचना उपलब्ध गराउन तथा विमान र पानीजहाजको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको जापानी सरकारको भनाइ छ।

जापान सरकारले प्रधानमन्त्री कार्यालयअन्तर्गतको संकट व्यवस्थापन केन्द्रमा सम्बन्धित मन्त्रालयका अधिकारीहरू सम्मिलित आपतकालीन टोलीसमेत परिचालन गरेको छ।

जापानको रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल वा त्यसै प्रकारको हुन सक्ने प्रक्षेप्य प्रहार भएको यो वर्षको सातौँ घटना हो।

Advertisement

सम्बन्धित खबर