Advertisement
जापान

ओकिनावामा पैदलयात्रीलाई ठक्कर दिने नेपाली पक्राउ

साझालेख साझालेख 2026-06-05 2 min Read
ओकिनावामा पैदलयात्रीलाई ठक्कर दिने नेपाली पक्राउ
जापानको ओकिनावा प्रान्तअन्तर्गत उरासोए शहरमा स्कुटर ले पैदलयात्रीलाई ठक्कर दिएर भागेको आरोपमा स्थानीय प्रहरीले एक २० वर्षीय नेपाली नागरिकलाई पक्राउ गरेको छ।
 
स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार, जुन ४ बिहान करिब ४:२० बजेको समयमा उरासोए शहरको याफुसोस्थित राष्ट्रिय राजमार्ग ५८ को फुटपाथमा प्रवेश गरेको एक स्कुटरले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परी ५० वर्षका एक जापानी पुरुषको दाहिने खुट्टा भाँचिएको छ र उनलाई गम्भीर चोट लागेको बताइएको छ।
 
दुर्घटना गराएपछि चालक स्कुटरलाई घटनास्थलमै छाडेर पैदलै भागेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरीले वरपर जडान गरिएका सीसीटीभी को फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको थियो। सोही फुटेजका आधारमा नजिकैको गिनोवान शहरमा बस्ने २० वर्षीय नेपाली नागरिक पुन निरन्जनलाई प्रहरीले ‘हिट एण्ड रन’ को आरोपमा तत्काल पक्राउ गरेको हो।
 
पक्राउ परेपछि अनुसन्धानका क्रममा ती नेपाली युवाले प्रहरीसमक्ष “दुर्घटनापछि डर लागेर भागेको” बयान दिएका छन्। प्रहरीले घटनाको समयको वस्तुस्थिति र दुर्घटनाको कारणबारे थप विस्तृत अनुसन्धान गरिरहेको छ। जापानको कानुनअनुसार सवारी दुर्घटना गराएर घाइतेलाई अलपत्र छाडी भाग्नुलाई अत्यन्तै गम्भीर अपराधको रूपमा लिइन्छ, जसले गर्दा कडा कानुनी कारबाही हुनसक्छ।
Advertisement

सम्बन्धित खबर