नक्कली प्रमाणपत्र रोक्न जापानमा ‘तोकुतेइ गिनोउ’ आवेदकको कडा जाँच
जापानको अध्यागमनले ‘तोकुतेइ गिनोउ’ भिसामा नक्कली जापानी भाषा प्रमाणपत्र रोक्न जनवरीदेखि सबै आवेदकको प्रमाणपत्र अनिवार्य रुजु गर्ने नयाँ नियम लागु गरेको छ।
जापानको अध्यागमन सेवा एजेन्सी (इमिग्रेसन) ले ‘तोकुतेइ गिनोउ’ (Specified Skilled Worker) भिसाका आवेदकहरूले पेश गर्ने जापानी भाषा परीक्षाको प्रमाणपत्र जाँचमा विशेष कडाइ गरेको छ। नक्कली प्रमाणपत्र पेश गरी भिसा लिने प्रवृत्ति बढेपछि, यस वर्षको जनवरी महिनादेखि अध्यागमनले सबै आवेदकहरूको जापानी भाषा परीक्षाको नतिजा सम्बन्धित परीक्षा सञ्चालक संस्थासँग अनिवार्य रूपमा रुजु गर्ने नियम लागु गरेको हो।
यसअघि, कर्मचारीको कार्यभारलाई मध्यनजर गर्दै अध्यागमनले शंकास्पद लागेका केही सीमित आवेदनहरूको मात्र जाँच गर्ने गरेको थियो। तर गत वर्ष ओसाकामा नक्कली भाषा प्रमाणपत्र प्रयोग गरी स्पेसिफाइड स्किल्ड वर्कर भिसा लिएका केही विदेशीहरू पक्राउ परेपछि यो नयाँ कडा नियम ल्याइएको हो। नयाँ नियम लागु भएयता नक्कली प्रमाणपत्र पेश गरेका कैयौं आवेदनहरू रद्द गरिसकिएको छ। अध्यागमनले नक्कली प्रमाणपत्र भेटिएमा भिसा अस्वीकृत गर्नुका साथै आवश्यकता अनुसार प्रहरीलाई समेत खबर गर्ने चेतावनी दिएको छ।
तोकुतेइ गिनोउ भिसा प्राप्त गर्ने मुख्य दुई वटा तरिका छन्: पहिलो ‘प्राविधिक प्रशिक्षार्थी’ (Technical Intern) को रूपमा तीन वर्ष काम गरेर परीक्षा बिना नै भिसा परिवर्तन गर्ने र दोस्रो सीप तथा जापानी भाषा परीक्षा (JLPT वा JFT-Basic) पास गरेर आवेदन दिने ‘परीक्षा रुट’। पछिल्लो समय आकर्षक तलब सुविधा पाउने आशमा परीक्षा दिएर जानेहरूको संख्या ह्वात्तै बढेको छ। सन् २०१९ मा ‘परीक्षा रुट’ बाट जानेहरू जम्मा ७ प्रतिशत (११५ जना) रहेकोमा, सन् २०२५ सम्म आइपुग्दा यो संख्या ४७ प्रतिशत (१ लाख ८२ हजार भन्दा बढी) पुगेको छ।
यसरी वार्षिक दशौं हजार आवेदन आउन थालेपछि भिसा प्रणालीको विश्वसनीयता कायम राख्न जापानले यो कडा कदम चालेको हो। परीक्षा सञ्चालक संस्थाहरूले पनि अध्यागमनको यो रुजु प्रक्रियामा पूर्ण रूपमा सहयोग गरिरहेको बताएका छन्। यसले नक्कली कागजातको भरमा जापान छिर्न खोज्नेहरूलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख