Advertisement
जापान

जापानमा तेस्रो सन्तान जन्माउनेलाई १ करोड येन दिने प्रस्ताव

साझालेख साझालेख 2026-11-27 2 min Read
जापानमा तेस्रो सन्तान जन्माउनेलाई १ करोड येन दिने प्रस्ताव

जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले घट्दो जन्मदर नियन्त्रण गर्ने उद्देश्यले तेस्रो तथा त्यसपछिका सन्तान जन्माउने परिवारलाई १ करोड येन (१००० मान) सहायता उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ।पार्टीको जनसंख्या रणनीति मुख्यालयले शुक्रबार बसेको बैठकमा सरकारलाई बुझाउने प्रस्तावको मस्यौदा पारित गरेको हो। आगामी हप्ता प्रधानमन्त्री सानाए ताकाइचीसमक्ष उक्त प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।

 

प्रस्तावमा बालबालिकाको जन्मदर बढाउन विभिन्न सुविधा विस्तार गर्ने योजना समेटिएको छ। तीन वर्षभन्दा कम उमेरका बालबालिकाको शिक्षा तथा हेरचाह निःशुल्क बनाउने र विवाह गर्न चाहने युवालाई प्रोत्साहन गर्न डेटिङ एप तथा विवाहसम्बन्धी सेवामा सरकारी र निजी क्षेत्रको सहकार्य बढाउने उल्लेख छ।त्यस्तै, जनसंख्या घट्ने समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न अधिकारसम्पन्न 'जनसंख्या रणनीति एजेन्सी' स्थापना गर्ने र संसदीय समिति गठन गर्ने प्रस्ताव पनि गरिएको छ।

 

यसका साथै, कामदारको अभाव कम गर्न छोटो समय काम गर्ने स्थायी कर्मचारीको व्यवस्था, अवकाश उमेर बढाउने तथा ज्येष्ठ नागरिकको परिभाषा पुनरावलोकन गर्ने विषय पनि समेटिएको छ। तर, १ करोड येन सहायता दिने प्रस्ताव अहिलेसम्म सरकारी निर्णय भइसकेको छैन। यसको कार्यान्वयन, समयसीमा र सहायता प्राप्त गर्ने मापदण्डबारे थप निर्णय हुन बाँकी छ।

Advertisement

सम्बन्धित खबर