Advertisement
जापान

जापानमा विदेशी कामदारका लागि नयाँ जापानी भाषा परीक्षा

साझालेख साझालेख 2026-11-25 2 min Read
जापानमा विदेशी कामदारका लागि नयाँ जापानी भाषा परीक्षा

जापान सरकारले विदेशी कामदारको बढ्दो सङ्ख्या र भिसासम्बन्धी नियममा भएको संशोधनलाई ध्यानमा राख्दै नयाँ जापानी भाषा दक्षता परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
 

जापानी विदेश मन्त्रालयले विशेष सीपयुक्त कामदार (Specified Skilled Worker) भिसाका लागि आवेदन दिने विदेशी नागरिकलाई लक्षित गरी कम्प्युटरमा आधारित नयाँ भाषा परीक्षा ल्याउने योजना बनाएको हो। यसका लागि मन्त्रालयले आर्थिक वर्ष २०२७ को प्रारम्भिक बजेट प्रस्तावमा आवश्यक रकमसमेत समावेश गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

हाल विशेष सीपयुक्त कामदारको पहिलो श्रेणी (SSW Type 1) का लागि जापानी भाषा दक्षता प्रमाणित गर्न जापानी भाषा प्रवीणता परीक्षा (JLPT) र जापान फाउन्डेसनको आधारभूत जापानी भाषा परीक्षा (JFT-Basic) उपलब्ध छन्।
 

कोरोना महामारीपछि JLPT परीक्षार्थीको सङ्ख्या तीव्र रूपमा बढेको छ। आगामी डिसेम्बरमा हुने परीक्षाका लागि जापानभित्र मात्रै करिब ५ लाख १० हजार आवेदन पर्ने अनुमान गरिएको छ। सबै परीक्षा स्थान भरिएपछि आवेदनसमेत बन्द गरिएको छ।

अर्कोतर्फ, सन् २०२७ अप्रिलदेखि नयाँ रूपमा SSW Type 2 भिसामा जापान प्रवेश गर्ने विदेशी कामदारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्तीमा B1 स्तरको जापानी भाषा दक्षता देखाउनुपर्ने व्यवस्था लागू हुँदैछ।
 

हालको JFT-Basic परीक्षाले B1 स्तर मापन नगर्ने भएकाले नयाँ परीक्षा आवश्यक भएको मन्त्रालयको निष्कर्ष छ। JFT-Basic मा नयाँ स्तर थप्ने वा JLPT को कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल भइरहेको छ।

Advertisement

सम्बन्धित खबर