जापानमा PR नियम कडा बनाउने प्रस्तावको विरोध, टोकियोमा विदेशीको प्रदर्शन
टोकियो । जापानमा स्थायी बसोबास अनुमति (PR) का लागि आर्थिक अवस्था, पेन्सन र जापानी भाषासम्बन्धी मापदण्ड कडा बनाउने प्रस्ताव आएपछि विदेशी नागरिक तथा समर्थकहरूले विरोध जनाएका छन्।
अगस्ट ९ मा टोकियोको ताकादानोबाबा स्टेशन अगाडि करिब ८० जना भेला भएर प्रस्तावित नयाँ PR गाइडलाइनको विरोध गरेका हुन्। उनीहरूले जापानमा लामो समयदेखि बस्दै काम गर्ने, कर तथा सामाजिक बीमा तिर्ने विदेशीको भविष्यलाई अचानक कडा नियममार्फत प्रभावित पार्न नहुने बताएका छन्।
प्रस्तावअनुसार PR आवेदकको आम्दानी परिवारको आकारअनुसार जापानी परिवारको औसत आम्दानीभन्दा माथि निरन्तर रहेको हुनुपर्नेछ। सामाजिक सञ्जालमा भने वार्षिक ५७५万円 सबैका लागि अनिवार्य हुने चर्चा चलेको छ। तर सरकारी प्रस्तावमा सबैलाई एउटै निश्चित आम्दानी सीमा तोकिएको छैन।
पेन्सनतर्फ पनि आवेदकले भविष्यमा प्राप्त गर्ने अनुमानित पेन्सन रकम निश्चित स्तरको हुनुपर्ने प्रस्ताव गरिएको छ। रकम अपुग भए बचत वा अन्य वित्तीय सम्पत्तिलाई समेत मूल्याङ्कनमा समावेश गर्न सकिने उल्लेख छ।
भाषातर्फ CEFR B1 बराबरको जापानी भाषा क्षमता माग्ने प्रस्ताव छ। यसलाई केही रिपोर्टले JLPT N2 आसपासको स्तरसँग तुलना गरे पनि सरकारी दस्तावेजमा N2 प्रमाणपत्र अनिवार्य गरिएको छैन।
सरकारले PR लाई जापानमा दीर्घकालीन रूपमा बस्न सकिने स्थिर कानुनी हैसियत भएकाले आवेदकको आर्थिक स्थिरता, सार्वजनिक दायित्व, भाषा र सामाजिक नियमबारे थप सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्ने तर्क गरेको छ।
तर विरोधकर्ताहरूले व्यापक सार्वजनिक तथा संसदीय बहसबिना नियम कडा पार्दा जापानमा बसिरहेका विदेशीको विश्वास कमजोर हुन सक्ने बताएका छन्।
अहिले प्रस्ताव अन्तिम नियम बनिसकेको छैन। सरकारले सार्वजनिक राय संकलन गरिरहेको छ र e-Gov अनुसार राय बुझाउने अन्तिम समय सेप्टेम्बर ४ रहेको छ।
यसैबीच PR आवेदन शुल्कलाई हालको १० हजार येनबाट अधिकतम २०० हजार येनसम्म बढाउने छुट्टै कानुनी प्रक्रिया पनि अघि बढिरहेको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख