Advertisement
जापान

जापानमा विदेशी बालबालिकालाई भाषा सिक्न सहज, एलडीपीको नयाँ प्रस्ताव

साझालेख साझालेख 2026-06-05 3 min Read
जापानमा विदेशी बालबालिकालाई भाषा सिक्न सहज, एलडीपीको नयाँ प्रस्ताव
जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (LDP) ले विदेशी नागरिक र तिनका बालबालिकालाई जापानी भाषा सिक्न सहज बनाउन सरकारलाई एक विशेष प्रस्ताव पेश गरेको छ। यस प्रस्तावमा भाषा सिकाइका साथै जापान प्रवेश गर्नुअघि नै यहाँको जीवनशैलीसम्बन्धी पूर्व-तयारी कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको छ।
 
एलडीपीको विदेशी नीति मुख्यालयका प्रमुख योशिताका शिन्दोले समाजमा नियम र व्यवस्था कायम गर्दै विदेशी र जापानी नागरिक सबैले सुरक्षित र शान्तिपूर्ण रूपमा सँगै बाँच्न सक्ने वातावरण निर्माण गर्नु यस प्रस्तावको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन्।
 
प्रस्तावित नीति अनुसार, विदेशी बालबालिकाहरूका लागि विद्यालय जानुपूर्व ‘प्रारम्भिक जापानी भाषा कक्षा (प्रि-क्लास वा प्रि-स्कुल)’ को आधारभूत मोडल तयार गरी देशभर छिट्टै विस्तार गरिनेछ। यसका साथै, जापान आउनुअघि नै यहाँको प्रणाली, नियम, र संस्कारबारे जानकारी दिन ‘जापानी भाषा तथा जीवनशैली सिकाइ कार्यक्रम’ सुरु गर्न पनि सरकारलाई सुझाव दिइएको छ। यसले जापान आउने विदेशीहरूलाई यहाँको समाजमा चाँडै घुलमिल हुन मद्दत पुग्ने विश्वास लिइएको छ।
 
भाषा र शिक्षामा सहयोग बढाउने मात्र नभई, यस प्रस्तावले अध्यागमन प्रणालीलाई थप व्यवस्थित र कडा बनाउने विषय पनि उठाएको छ। यसअन्तर्गत गैरकानुनी रोजगारी (अवैध काम) नियन्त्रण गर्ने र जापानको आत्मरक्षा बल का महत्वपूर्ण सुविधाहरू वरपर जग्गा खरिदमा कडाइ गर्ने जस्ता राष्ट्रिय सुरक्षाका विषयहरू पनि समेटिएका छन्।
Advertisement

सम्बन्धित खबर