Advertisement
जापान

जापान पठाउने भन्दै २ करोड २५ लाख ठगी, एक जना पक्राउ

साझालेख साझालेख 2026-11-25 2 min Read
जापान पठाउने भन्दै २ करोड २५ लाख ठगी, एक जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै १७ जनाबाट २ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थायी ठेगाना भएका ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन्।
 

प्रहरीका अनुसार उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र जापानमा रोजगारीको प्रलोभन देखाउँदै लामो समयसम्म झुक्यानमा राखेर रकम असुल्ने गरेको पाइएको छ। उनले पीडितहरूलाई रकम जम्मा गर्न लगाउन अर्कै व्यक्तिको बैंक खाता प्रयोग गरेको र आफूलाई शिरबहादुर गुरुङ भएको भन्दै झुक्याएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म १७ जना पीडित सम्पर्कमा आएका छन्। उनीहरूबाट जम्मा २ करोड २५ लाख रुपैयाँ ठगी भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
 

दाहाललाई मंसिर ७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।
 

प्रहरीले जापानलगायत वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगीमा परेका अन्य व्यक्तिलाई पनि आवश्यक कागजातसहित वैदेशिक रोजगार विभाग वा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Advertisement

सम्बन्धित खबर