Advertisement
जापान

जापानको चिबामा उच्चतम वर्षा चेतावनी हटाइयो, तर बाढी र पहिरोको खतरा कायमै

साझालेख साझालेख 2026-08-14 2 min Read
जापानको चिबामा उच्चतम वर्षा चेतावनी हटाइयो, तर बाढी र पहिरोको खतरा कायमै

चिबा — जापानको चिबा प्रिफेक्चरमा बिहीबार परेको रेकर्ड भारी वर्षापछि जारी गरिएको लेभल–५ भारी वर्षा विशेष चेतावनी शुक्रबार बिहान लेभल–४ र लेभल–३ को चेतावनीमा घटाइएको छ। तर, चिबाका विभिन्न क्षेत्रमा डुबान र अन्य क्षति भइरहेकाले जोखिम अझै कायमै रहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

बिहीबार साँझदेखि चिबामा लाइन आकारको वर्षा प्रणाली सक्रिय हुँदा केही क्षेत्रमा एक घण्टामा १०० मिलिमिटरभन्दा बढी अत्यधिक भारी वर्षा भएको थियो। राति ११:३० बजेसम्म चिबा सहर आसपास एक घण्टामा १२० मिलिमिटरभन्दा बढी वर्षा भएको अनुमान गरिएको छ।

चिबा सहरमा १४ तारिख बिहान १:४० बजेसम्मको १२ घण्टामा ३४८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यो नियमित तथ्यांक राख्न थालेयताकै सबैभन्दा धेरै हो। त्यस्तै, चिबा सहरको मिदोरी क्षेत्रमा करिब ६ घण्टामै ४५० मिलिमिटर वर्षा मापन गरिएको थियो।

अत्यधिक वर्षाका कारण विभिन्न स्थानमा सडक डुबान, घरमा पानी पस्ने, पहिरो तथा नदीको पानी बढ्ने समस्या देखिएको छ। जमिन अझै कमजोर रहेकाले पहिरोको जोखिम पनि उच्च रहेको छ।

मौसम अधिकारीहरूले नदीमा बाढी, तल्लो भूभागमा डुबान र पहिरोबाट अझै उच्च सतर्क रहन आग्रह गरेका छन्। चिबाबाहेक अन्य कान्तो क्षेत्रमा पनि आज स्थानीय रूपमा चट्याङसहित अत्यधिक भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Advertisement

सम्बन्धित खबर