Advertisement
जापान

जापानमा महँगो उपचारका लागि आउने विदेशीमाथि स्वास्थ्य बीमामा कडाइ

साझालेख साझालेख 2026-11-27 2 min Read
जापानमा महँगो उपचारका लागि आउने विदेशीमाथि स्वास्थ्य बीमामा कडाइ

जापान सरकारले राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीको दुरुपयोग गरी महँगो उपचार गराउन आउने विदेशी नागरिकमाथि कडाइ गर्ने तयारी गरेको छ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बिहीबार सामाजिक सुरक्षा परिषद्को समितिमा नयाँ प्रस्ताव प्रस्तुत गर्दै विद्यार्थी तथा अन्य आवासीय भिसामा जापान प्रवेश गरी स्वास्थ्य बीमाको सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्ने योजना अघि सारेको हो।

 

हाल राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले उपचार खर्चको सामान्यतया २० देखि ३० प्रतिशत मात्रै आफैँले तिर्नुपर्छ। महँगो उपचारका लागि लागू हुने उच्च लागत चिकित्सा सेवा प्रणालीअन्तर्गत बिरामीले व्यहोर्नुपर्ने रकमको अधिकतम सीमा पनि तोकिएको छ।

 

नयाँ प्रस्तावअनुसार उपचारकै उद्देश्यले जापान प्रवेश गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिको आवासीय अनुमति रद्द गर्न सकिने व्यवस्था गरिनेछ। साथै, भिसा आवेदन गर्दा महँगो उपचार गराउने उद्देश्यले जापान आउन लागेको होइन भन्ने घोषणा गर्नुपर्ने प्रावधान थप्ने तयारी छ।

 

अस्पतालहरूलाई पनि यस्तो गतिविधि फेला परेमा सम्बन्धित स्थानीय स्वास्थ्य बीमा निकायलाई जानकारी गराउन अनुरोध गरिनेछ।

यद्यपि, सरकारले नयाँ व्यवस्था कहिलेदेखि लागू गर्ने भन्ने मिति सार्वजनिक गरेको छैन।

Advertisement

सम्बन्धित खबर