Advertisement
जापान

जापान छाड्ने विदेशीबाट बैंक खाता किनेर ठगी दुई जना पक्राउ

साझालेख साझालेख 2026-11-27 2 min Read
जापान छाड्ने विदेशीबाट बैंक खाता किनेर ठगी दुई जना पक्राउ

जापान छाड्न लागेका विदेशी नागरिकबाट बैंक खाता खरिद गरी ठगी गर्ने समूहलाई बिक्री गरेको आरोपमा टोकियो प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

 

नोभेम्बर २५ मा पक्राउ पर्नेमा २९ वर्षीय भारतीय र ३१ वर्षीय पाकिस्तानी नागरिक रहेका छन्। प्रहरीका अनुसार उनीहरूले गत वर्षदेखि सामाजिक सञ्जालमार्फत जापान छाड्न लागेका विदेशी नागरिकलाई सम्पर्क गरी बैंक खाता खरिद गर्दै आएका थिए।

 

एउटा बैंक खाताका लागि १ लाखदेखि २ लाख येनसम्म तिरेर खरिद गरिएका खाता भियतनामस्थित ठगी समूहलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले हालसम्म करिब २०० वटा बैंक खाता बिक्री गरी २ करोड ४० लाख येन आम्दानी गरेको प्रहरीको अनुमान छ।

ती खातामध्ये केही विशेष ठगी तथा सामाजिक सञ्जालमार्फत हुने लगानी ठगीमा रकम जम्मा गर्न प्रयोग भएको पाइएको छ।

 

यसअघि मार्च महिनामा अरूको नाममा रहेका आठवटा नगद कार्ड १६ लाख ८५ हजार येनमा बिक्री गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए। दुवैले आरोप स्वीकार गरेको बताइएको छ।

जापानमा बैंक खाता वा नगद कार्ड अरूलाई बेच्नु, हस्तान्तरण गर्नु गैरकानुनी हो। जापान छाड्नुअघि आफ्नो बैंक खाता विधिपूर्वक बन्द गर्न प्रहरीले सचेत गराएको छ।

Advertisement

सम्बन्धित खबर