खेलकुद

थुनामुक्त भएका सन्दीप खेलमा कहिले फर्किएलान्?

By: Date: 2023-05-31 3 min Read

बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन्। उनी ९९ सय दिनपछि थुनामुक्त भएका हुन्। प्रहरीमा निवेदन परेपछि फरार रहेका सन्दीप गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ परेका थिए।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो। 

थुनामुक्त भएपछि सन्दीपले छिट्टै खेलमा फर्किने बताए। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अदालतको आदेशलाई सम्मान गरेर अगाडि बढ्ने बताए। उनले जित हार आफ्नो ठाउँमा भए पनि कानुनअनुसार आफू अघि बढ्ने बताए। 'अहिले परिवारबाहेक म केही सोच्न सकिरहेको छैन। धेरै प्रतिक्रिया दिने हालतमा पनि छैन। समयसँगै सबै कुरा सामुने आउँछ,' उनले भने। 

सन्दीप धरौटीमा रिहा भए पनि अदालतले उनीमाथि थुप्रे शर्त राखेको छ। अदालतले विदेश जान रोकदेखि प्रहरीलाई मोबाइल ट्र्याक गर्ने अधिकार प्रदान गरेको छ। काठमाडौं उपत्यका छाड्नसमेत सन्दीपले प्रहरीलाई निवेदन दिनुपर्ने छ। पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको आदेशमा उल्लेख छ। 
यता नेपाल क्रिकेट संघले सन्दीपलाई क्रिकेटको जिम्मेवारीमा फर्काउने वा नफर्काउने विषयमा आन्तरिक छलफल गरिरहेको छ। क्यान स्रोतका अनुसार यस विषयमा गम्भीर छलफल गरेरमात्रै निर्णय लिइनेछ। मुद्दा लागेसँगै निलम्बनमा परेका सन्दीप क्रिकेटमा फर्किने हुन् वा होइनन्, उनका समर्थकहरूले चासोका साथ हेरिरहेका छन्।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो। लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए। लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। 

सम्बन्धित खबर