ह्यारी ब्रुकको शतकमा हैदरावादले कोलकातालाई हरायो
ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा हैदरावादले कोलकातालाई उसकै घरमा २३ रनले पराजित गरेको हो।
जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनाउन सक्यो। कोलकाताका लागि कप्तान नितिस रानाले सर्वाधिक ७५ रन बनाए। उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।
नारायण जगदिशनले २१ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे।
अघिल्लो खेलको अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरेका रिंकु सिंहले हैदरावादविरूद्ध अर्धशतकीय पारी खेल्दै नटआउट रहे। उनले ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे। बलिङमा हैदरावादका म्याक्रो जनसेन र मयन्क मारकण्डेले दुई–दुई विकेट लिए भने भुवनेश्वर कुमार, नटराजन र उम्रन मलिकले एक–एक विकेट लिए।
कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रनको फराकिलो योगफल तयार पारेको थियो। हैदरावादका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे। यो जारी सिजनको पहिलो शतक हो।
ओपनर ह्यारीले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै नटआउट १०० रन बनाए। त्यस्तै कप्तान एडेन मार्क्रमले अर्धशतक बनाउन २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे। अभिशेक शर्माले १७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रनको योगदान गरे भने हेनरिच क्लासेन ६ बलमा २ चौका र १ छक्काबाट १६ रन बनाउँदै अविजित रहे।
बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिँदा वरूण चक्रवर्तीले एक विकेट लिए। जितसँगै हैदरावाद अंक तालिकाको सातौं स्थानमा छ। हारेको कोलकाता चौथो स्थानमा छ।