सहकारीको अनुगमन गर्दै काठमाडौं महानगरपालिका
अनियमितता गर्ने सहकारीको संख्या दैनिकरूपमा बढिरहेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमन गर्ने भएको छ।
काठमाडौं महानगरको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो। नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर महानगरपालिकाले अनुगमन तीव्र बनाएको हो।
वडागतरूपमा सहकारी संख्याका आधारमा अनुगमन गरिनेछ। नागरिकलाई ठगी गर्ने सहकारीको संख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको महानगरका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए।
‘पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ,’ उनले भने।
दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताए।
अनुगमनका क्रममा महानगरले दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरुप कारबाहीको प्रक्रिया अघि बढाउने महानगरको तयारी छ। सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन्। पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको संख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकमात्रामा ठगीका उजुरी परेकाले महानगरले अनुगमन गर्ने तयारी गरेको हो।
एक महिनाअघि दैनिक १५ वटासम्म उजुरी आउने गरेको थियो। अहिले दैनिक तीन/चार वटा उजुरी आउने गरेको बताइएको छ। अनुगमनको काम तत्काल सुरू गर्न टोली गठनको तयारी भइरहेको छ।