मध्यपहाडी लोकमार्ग बाग्लुङ—बिहुँखण्ड सडकको काम अलपत्र स्थानीय आन्दोलित
मध्यपहाडी लोकमार्गको बाग्लुङ—बिहुँखण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन्।
लामो समयदेखि ठेकेदारको लापरबाहीले कालेपत्रेको काम अलपत्र भएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीय आन्दोलित भएका हुन्।
उनीहरूले लोकमार्ग कालोपत्रेको माग गर्दै ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाएका छन्।
निर्माण कम्पनीको लापरबाहीले हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ। पटक–पटक म्याद थप गर्दासमेत मध्यपहाडी लोकमार्गको बाग्लुङ बजारदेखि बिहुँसम्मको २५ किलोमिटर कालोपत्रे नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूको भनाइ छ।
आन्दोलित स्थानीयले पटक–पटक म्याद थपेर काम नगर्ने निर्माण कम्पनीको ठेक्क रद्द गर्न माग गर्दै निर्माण कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले आइतबार दिउँसो ११ बजेदेखि करिब डेढ घण्टा सडक अवरुद्ध गरे। लोकमार्गको रूपमा काम थालिएपछि नयाँ ट्रयाक खोलिएका ठाउँहरूमा सडक कालोपत्रे भइसकेर पनि पुनः मर्मत गर्ने वेला भइसक्दा अक्षेत बिहुँ खण्डमा काम नभएको र बर्खामा हिलो र हिउँदमा धूलोले स्थानीयलाई निकै सास्ती दिइरहेको सापकोटाले बताए।
सडक कालोपत्रे नहुँदा विद्यालय जाने बालबालिकाले निकै सास्ती खेप्नुपरेको विद्यार्थी प्रकाश कँडेलले बताए। ‘यो सडक कालोपत्रे नहुँदा सबैभन्दा धेरै सास्ती हामी विद्यार्थीले खेप्नुपरेको छ,’ कँडेलले नयाँ पत्रिकासँग भने, ‘कच्ची सडकमा गुड्ने सवारीसाधनले उडाउने धूलोको कारण हामी विद्यालय आउँदाजाँदा सासै फेर्न गाह्रो हुने गरेको छ। स्वास्थ्यमा समेत समस्या आउने गरेको छ।’
बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आन्दोलनको नेतृत्व गरिरहेको छ। निर्णायक आन्दोलनमा अगाडि बढेकाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेल बताउँछन्।
उनीहरूले २१ देखि २५ जेठसम्म सरकारी नम्बर प्लेटका सबै सवारीसाधनहरू आवतजावतमा रोक लगाउने, २६ देखि अनिश्चितकालसम्म मध्यपहाडी लोकमार्ग बन्द गर्ने जनाएका छन्।