जापानको गुन्मा प्रिफेक्चरमा एक नेपाली महिलाको हत्याको आरोपमा नेपाली पक्राउ
जापानको गुन्मा प्रिफेक्चरमा एक नेपाली महिलाको हत्याको आरोपमा नेपाली पक्राउ भएका छन् । बिहीबार गुन्मा प्रहरीले ३७ वर्षका विश्वराज आचार्यलाई पक्रिएका हुन् । आचार्यले १६ नोभेम्बरको रातमा गुन्माकै इसेशाकी शहरमा बस्ने ४२ वर्षकी लक्ष्मी अधिकारी बस्नेतलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आशंका प्रहरीको छ ।
लक्ष्मीको हत्या मामिलामा अनुसन्धानका लागि उनी पक्राउ परेको बताइएको छ । आचार्य र लक्ष्मी चिनजानका व्यक्ति भएको पनि खुलेको छ । हत्यामा प्रयोग गरिएको छुरासहित अभियुक्त फरार भएको भन्दै समाचारहरु आएका थिए । ती फरार व्यक्ति आचार्य भएको बताइएको छ ।
लक्ष्मीका श्रीमान र आचार्य एउटै नेपाली रेष्टुराँमा काम गर्थे । हत्या गर्नुको कारण खुलेको छैन । प्रहरीको सोधपुछमा संदिग्धले आफूले हत्या नगरेको बताएका छन् । रक्ताम्मे अवस्थामा अस्पताल पुर्याइएकी लक्ष्मीको अस्पतालमा मृत्यु भएको थियो ।