राजनीति

राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

By: Date: 2023-05-31 4 min Read

नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आज दिउँसो नयाँ बानेश्वरमा रहेकाे निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पौडेलको उम्मेदवारी दर्ताकाक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ ।

कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । गएराति नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । यसअघि एमालेको तर्फबाट सुवाषचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको थियो । फागुन २५ गते राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ ।

वरिष्ठ नेता पौडेल गएकाे मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुभएको थियो । उहाँ यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसबीचमा उहाँ उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी निभाउनुभएको थियो ।

विसं २००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । कांग्रेसद्वारा सञ्चालित २०१८ को क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो ।

विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहनुभएका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति हुनुभएको थियो ।

उहाँ विभिन्न पुरस्कारसहित जापान सरकारले सन् २०२० मा प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित हुनुभएको थियो । उहाँका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांगे्रस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा समसामयिक लेख प्रकाशित छन् ।

सम्बन्धित खबर