ल्यापटप र पेस्की अझै फिर्ता नगर्ने सांसद :सांसदहरुले राज्यलाई दोहन
काठमाडौं । नेपालमा भ्रष्टाचार, अनियमितता महारोग भईसकेको छ । भ्रष्टाचार र अनियमितता पनि उच्च ओहोदामा बसेकाहरुले गर्ने र त्यसलाई ढाकछोप गर्ने प्रचलनले गर्दा राजनीति विकृत, समाज भ्रष्ट र देशको अर्थतन्त्र लगातार ओरालो लागिरहेको छ ।
प्राकृतिक विविधताले सम्पन्न प्रसस्त मानव संसाधन भएपनि देशले विकासको गति लिन नसक्नुमा भ्रष्ट र कमजोर राजनीतिक नेतृत्व नै प्रमुख कारकको रुपमा देखिन आएका छन् ।
देशको नीति निर्माण गर्ने नेता र सांसदहरुले राज्यलाई दोहन गर्ने र आफ्नो भूंडि भर्न लागेपछि त्यसको प्रभाव तल्लो तह र समाजमा पर्ने नै भयो । महालेखा परिक्षकको कार्यालयले संघीय संसदमा भएको त्यस्तै एउटा अपलचनलाई सतहमा ल्याएको छ ।
संविधान सभा ताका संविधान बनाउन भनेर आएका सभासदहरुले लगेको पेस्की अझै फिर्ता नगरेको । त्यसपछि सार्वजनिक लेखा समितिका सदस्यहरुले लगेको संसद सचिवालयको ल्यापटप अझै फिर्ता नगरेको देखिएको हो । त्यसरी ल्यापटप फिर्ता नगर्नेमा सार्वजनिक लेखा समितिका सदस्य र संसदीय समितिका सभापतिहरू छन् ।
ल्यापटप फिर्ता नगर्ने पूर्वसांसद नीरादेवी जैरु, भरतकुमार शाह, कृष्णप्रसाद दाहाल, मोहनप्रसाद बराल, गंगाबहादुर तामाङ, पार्वती डीसी चौधरी, मीना सुब्बा, चन्दा चौधरी, मोहम्मद इस्तियाक राई रहेका छन् । संसद् सचिवालयको दबाबमा महालेखाको प्रतिवेदनबाट सांसदका नाम र मूल्यसमेत हटाइएको छ ।
लेखा समितिका तत्कालीन सभापति नेपाली कांग्रेसका सांसद भरत शाहले दुईवटा ल्यापटप लगेर फिर्ता नगरेको सूची संसदको अनियमितता सम्बन्धी प्रारम्भिक प्रतिवेदनमा थियो, शाहले लेखा समिति सभापतिको हैसियतमा १ लाख ४१ हजार र १ लाख ४ हजारका दुईवटा ल्यापटप लगेका छन् तर दुवै फिर्ता गरेका छैनन् ।
यसपालि पनि लेखा परीक्षण गर्ने टोलीले कमजोरी औंल्याएपछि संघीय संसद्का पदाधिकारीले महालेखाका उच्च अधिकारीलाई बोलाएर छलफल गरेका थिए । संविधानसभाका बेला तत्कालीन सभासदहरूले लिएको पेस्की अझै फर्स्योट गरेका छैनन् । संविधानसभाका ३१ जना सभासदको १६ लाख ८ हजार ७ सय २१ रुपैयाँ पेस्की बाँकी छ ।
पारिश्रमिक, दैनिक भ्रमण भत्ता, औषधि उपचार, मर्मत र रायसुझाव संकलन गर्न लिएको पेस्की १४ वर्षसम्म पनि फर्स्योट भएको छैन । राय सुझाव संकलनका लागि भन्दै पेस्की लिएर नतिर्नेमा चन्दा देवी, इन्द्रमती यादव, श्यामसुन्दर गुप्ता, अर्जुन राई, विश्वनाथप्रसाद यादव र परी थापा छन् ।
पेस्की बाँकी हुनेमा गोविन्दविक्रम शाह, दीनबन्धु श्रेष्ठ, राजकुमार नाल्वो, रामजीप्रसाद शर्मा र गोविन्दराम प्रजा छन् । त्यस्तै सविना बराम, सञ्जयकुमार साह, तुलसी सुब्बा, बुद्धिराम गुरुङ, खड्गबहादुर विश्वकर्मा, सरोजकुमार यादव, पुरन राना थारू, वीरबहादुर तामाङ, शारदा नेपाली, भैरे कामी, शम्भु हजरा पासवान, रीता रावल, अम्बिका खवास राजवंशी, सुरेन्द्रप्रसाद चौधरी, पेम्बा गुरुङ, वर्तमान धिमाल, रमणी राम, मानबहादुर चौधरी र जयप्रकाश थारूले संसद्बाट लिएको पेस्की अझै बाँकी छ ।@samachardainik