राजनीति

ओलीले भने- मतदान गर्नुअघि दुई भविष्यलाई सम्झिनुस्:भिडियो

By: Date: 2023-05-31 4 min Read

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि दुई भविष्यलाई सम्झिन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले मतदान गर्नुअघि आफ्नो र आफ्ना छोराछोरीको भविष्य सम्झिन आग्रह गरेका हुन्।

उनले मंसिर ४ गतेको चुनावले देश कसको हातमा सुम्पिने भन्ने कुराको निर्क्योल गर्ने भएकाले स्पष्ट निर्णय लिन आग्रहसमेत गरे। 'मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्ने छ। शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा?,' उनले मतदातासँग प्रश्न गरेका छन्।

उनले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको आरोप लगाए। गठबन्धनको कुनै राष्ट्रिय उद्देश्य नरहेको भन्दै उनले मंसिर ४ पछि यही गठबन्धन रहिरहे मुलुक बर्बादीतर्फ जाने बताए। उनले आफू पटक-पटक मृत्युको मुखबाट फर्केर आएको भन्दै आफूले कहिल्यै झुटो नबोल्ने र सत्य नछोड्ने वाचा गरेका छन्।

उनले दुई भविष्य सुनिश्चितताका लागि भिडियो सन्देशमार्फत् भोट मागेको स्पष्ट पारे। उनले एमालेका लागि भन्दा पनि राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थायी सरकारका लागि भोट मागेको बताए।

ओलीको सन्देश

प्रिय मतदाता, अब स्पष्ट निर्णय लिने समय आएको छ। किनकि मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्ने छ। शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा? त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झिनुहोला। पहिलो तपाइँको भविष्य र दोस्रो तपाईंका छोराछोरीको भविष्य।

प्रिय मतदाता, म झुटो बोल्दिन सत्य छोड्दिनँ। तपाईंलाई थाहा छ, म पटक-पटक मृत्युको मुखबाट फर्केर व्यक्ति हुँ। अहिले देश केही व्यक्ति र समूहको जिनी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ। जसको कुनै राष्ट्रिय उद्देश्य छैन। यही गठबन्धन रहिरहने मुलुक बर्बाद हुनेछ। तपाईं र तपाईंका छोराछोरीको भविष्य पनि बर्बाद हुनेछ।

त्यसैले म आज यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु। तर मैले मागेको भोट एमालेको जितको लागि होइन। म तपाईं र तपाईंको सन्ताको सुखका लागि। राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थायी सरकारका लागि भोट माग्दैछु। यो त्यतिखेर मात्र सम्भव छ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ। त्यसैले सूर्य चिन्हमा मतदान गर्नुस्।

सम्बन्धित खबर