राजनीति

सर्लाही १ मा स्वतन्त्र उम्मेदवार अधिकारीले प्रभाव बढाउँदै

By: Date: 2023-05-31 3 min Read

सर्लाहीको प्रतिनिधिसभा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार सुरेशराज शर्मा अधिकारीको प्रभाव बढ्दै गएको छ। उनी राष्ट्र र नागरिकमुखी व्यवस्थाका पक्षमा आफ्नो उम्मेदवारी भएको भन्दै स्थानीयलाई रिझाउन व्यस्त छन्। 

पुराना राजनीतिक पार्टीहरूबाट निराश बनेका मतदाताहरू अहिले अधिकारीलाई सघाउने पक्षमा देखिएका छन्।
 
उनले अहिलेका राजनीतिक दलका नेताहरूका कारण देश ट्रयापमा पर्ने अवस्था सिर्जना भएको बताउँदै अहिलेको अन्योलताबाट पार लगाउन समाजका सचेत नागरिकले नेतृत्व लिनुपर्ने अवस्था आएको उल्लेख गरे। 

उनले चुनाव चिह्न माछा पाएका छन्। क्षेत्रगत विकास निर्माण, केन्द्रीय नीति निर्माणमा खबरदारी आफ्नो प्राथमिकतामा पर्ने एजेण्डा उनले जनतामाझ पुर्‍याइरहेका छन्। 

उनले राष्ट्रियताका सवालमा पनि अहिलेका प्रमुख दलहरूको नीति ढुलमुले र राष्ट्रहीत विपरीत रहेको बताए। उनले २८ जनाले नागरिकता विधेयक पास गर्ने लोकतन्त्रको दुरावस्थालाई बदल्नका लागि आफूहरूजस्तै देशलाई माया गर्ने उम्मेदवारहरूको जित आवश्यक रहेको दाबी गरे। 

मधेशमा रहेको मधेशी पहाडी भावनालाई हटाएर मात्रै क्षेत्रको विकास हुने ठहर उनको छ। उनले अहिलेको बेरोजगारी पनि मुलुकका लागि प्रमुख समस्या भएको बताए। 

अहिले दलीय व्यवस्थामा जथाभावी राजस्व उठाएर व्यवसायलाई दुत्साहन गर्न खोजिएको, स्थानीयस्तरमा कृषि, पशुपालनजस्ता कुराहरूमा पनि ध्यान नदिइएको उनले गुनासो गरे। 

उनले किसानलाई मारमा पार्ने, ठेक्का लगाउने परिपाटीको अन्य गरिनुपर्नेमा जोड दिने दावी गरे। उनले शीत भण्डार निर्माण, आलु उत्पादन हुने क्षेत्रमा वैज्ञानिक आलु खेतीमा पहल, कृषिमा विचौलिया न्यूनीकरण, किसान सहकारी स्थापनाजस्ता योजना आफूसँग रहेको जानकारी दिए।  

अधिकारीले सीपसहितको गुणस्तरीय शिक्षा १२ कक्षासम्म निःशुल्क, गुणस्तरहीन विकासको श्रृखलाको अन्त्य, निर्वाचन क्षेत्रमा भएका स्वास्थ्य चौकी १० शय्या र ठूलो क्षेत्र भएका ५० र १०० शय्याको अस्पताल विकास गरेर क्षेत्रमै विशेषज्ञ स्वास्थ्य सेवा दिने एजेण्डा पनि अघि सारेका छन्। 

सर्लाही ईश्वरपुर नगरपालिका अधिकारी लामो समय व्यवसाय र समाजसेवामा सक्रिय रहँदै आएका थिए। ४८ वर्षीय उनले लामो समय शिक्षण पेशामा बिताएका थिए। 

सम्बन्धित खबर