राजनीति

जिल्लाको आदेशविरुद्ध उच्च अदालत जाने अभियुक्तहरुको तयारी:शरणार्थी प्रकरण

By: साझा लेख Date: 2023-06-17 3 min Read
जिल्लाको आदेशविरुद्ध उच्च अदालत जाने अभियुक्तहरुको तयारी:शरणार्थी प्रकरण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

पक्राउ परेका १८ मध्ये १६ जनालाई हिजो जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभियुक्तहरुले आदेश त्रुटिपूर्ण रहेको भन्दै पुनरावेदनमा जाने तयारी गरेका हुन् । 

अभियुक्त बालकृष्ण खाणका कानुन व्यवसायी खम्मबहादुर खातीले आवश्यक परामर्शपछि उच्च अदालत पाटनमा पुनरावेदन गरिने बताए । पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललगायत छन् ।

अभियुक्तहरु लक्ष्मी महर्जन र टंककुमार गुरुङ भने धरौटीमा रिहा भएका छन् । अभियुक्तविरुद्ध ठगी, संगठित अपराध, सरकारी कागजको किर्ते र राज्यविरुद्धको आरोप लगाइएको छ ।

जिल्ला अदालतको आदेशअनुसार न्यायिक हिरासतमा पुगेका वा धरौटीमा छुटेकाहरुले आदेश चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुन व्यवसायी बताउँछन् ।

यसैबीच नक्कली शरणार्थी प्रकरणमा फरार १२ जनालाई पक्राउ पूर्जी जारी गरी नियमानुसार गर्न जिल्ला अदालतले आदेश दिएसँगै प्रहरीले खोजी तीव्र पारेको छ । यो प्रकरणमा अहिलेसम्म संलग्न देखिएका ३० जनामध्ये फरार केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपान्जली हुमागाईं, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरन्जनकुमार खरेल र सुनील बुढाथोकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार अभियुक्तको सम्पत्ति विवरण, बैंक र सेयर खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । यो प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

सम्बन्धित खबर