पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोड भ्रष्टाचार मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
आयोगले पतञ्जली योगपीठ नेपाललाई काभ्रेपलाञ्चोकमा ८१५ रोपनी जग्गा सट्टापट्टा गर्न दिएको अनुमति गैरकानुनी रहेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा चलाएको हो। पतञ्जलीले आयुर्वेदिक अस्पताल, योगशाला, औषधि उद्योग र गाई फार्मजस्ता सामाजिक कार्य गर्ने भन्दै जग्गा खरिद गरेको थियो। तर, केही महिनामै जग्गा सट्टापट्टा गर्न माग गर्दै निवेदन दिएपछि, नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा अनुमति दिएको थियो।
यससँगै नेपाल रौतहट–३ बाट निर्वाचित सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्। उनी प्रतिनिधिसभामा १० सांसद रहेको एकीकृत समाजवादीका अध्यक्ष समेत हुन्।
अख्तियारले कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलोपटक भ्रष्टाचार मुद्दा दर्ता गरेको यो ऐतिहासिक कदम हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा दर्ता गरिएको पहिलो भ्रष्टाचार मुद्दा पनि यही हो।