नेपालको राष्ट्रियताबारे भारतीय चलचित्र लेखकको विवादित भनाइ
काठमाण्डाै - भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ ।
चलचित्रमा रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित अंशलाई लिएर व्यापक विरोध भइरहँदा यसका पटकथा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको बताएका छन् ।
नेपालको राष्ट्रियतामाथि नै प्रश्न उठाउने उनको विवादित भनाइलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यसबारे सरकारीस्तरबाटै प्रतिवाद हुनुपर्ने माग उठिरहे पनि परराष्ट्र मन्त्रालय मौन छ ।