मनोरन्जन

हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराबको प्रदर्शन स्थगित गर्ने घोषणा

By: साझा लेख Date: 2023-11-15 3 min Read
हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराबको प्रदर्शन स्थगित गर्ने घोषणा

२९ कात्तिक, काठमाडौं । हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।

भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए ।

‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’

उनका अनुसार, अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ । नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् ।

‘कसैलाई निहुँ खोज्न, रिस राखेर यो गरेको होइन । सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो’, बस्नेतले प्रष्टिकरण दिएका छन्, ‘चुनौती लिएरै यो निर्णय गरेका छौं, अफिसियल लेटरमा लेखेर पनि चाँडै सार्वजनिक गर्छौं ।’

बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गएपनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए । ‘जतिसम्म शो चलिरहन्छ त्यतिञ्जेल प्रोड्यूसरले ५०/५० प्रतिशत शेयर समेत पाउनुपर्छ भन्ने हाम्रो माग हो’, बस्नेतले भने ।

उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरुले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरुले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्टिब्यूटरको शेयर, करहरु लगायत काटिन्छ ।

‘तेस्रो हप्तामा निर्माताले पाउने भनेको ३५ प्रतिशत हो, फिल्मको वर्ड अफ माउथ राम्रो हुँदै अहिले बल्ल अकुपेन्सी दैनिक बढिरहेको छ’, बस्नेतले भने, ‘हल भरिँदै गएको छ, तर शो घट्दै गएको छ । विदेशी फिल्मको व्यापार घट्दै जाँदा मात्र बढी पाउने हिसाबको देखिएको छ, त्यतिबेला निर्माताले कति प्रतिशत पाउँछन् ?’

फिल्म निर्माणमा चार करोड रुपैयाँभन्दा बढी खर्च भएको समेत उनले बताएका छन् । ‘हामीले व्यापार मात्र हेरेका होइनौं, तर कामको मूल्य त हुनुपर्‍यो भन्ने हो’, बस्नेतले भनेका छन् ।

सम्बन्धित खबर