महानगर प्रमुख बालेन्द्र साहले गरे सामुदायिक विद्यालयको निरीक्षण
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार गरिने बताए ।
“पाठ्यक्रम र पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलापमा खेलकुद, गायन, सङ्गीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ”, उनले भने, “यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ ।”
प्रमुख साहले खेलकुदका लागि मैदान नभएका विद्यालय नजिक रहेका सार्वजनिकस्थललाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा महानगरले नक्साङ्कन गरिरहेको बताए । “यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ”, उनले भने ।
सो क्रममा प्रमुख साहले विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार क्लब (स्टिम क्लब) का विद्यार्थीले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए ।
प्रधानाध्यापक रविना महर्जनले विद्यालयको समग्र स्थितिका विषयमा प्रमुख साहलाई जानकारी गराएकी थिइन्। विद्यार्थीहरुले भूकम्प ‘अलार्म’, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, ऊर्जा उत्पादन प्रविधि, केबलकारलगायत प्रविधि प्रदर्शनी गरेका थिए । प्रमुख साह आएर प्रदर्शनीको अवलोकन गरेपछि विद्यार्थीले आफूहरुलाई हौसला मिलेको बताएका थिए ।
सम्बन्धित खबर
-
साझा लेख
-
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
साझा लेख -
विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित
साझा लेख -
शैक्षिक सत्र सुरु भएको छैन, कर्णालीका विद्यार्थीका हात-हातमा पुस्तक
साझा लेख -
त्रियुगा नमुना विद्यालय जहाँ भर्ना पाउन प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ
साझा लेख