पर्यटक बढ्न थालेपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको माग
गत अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नयाँ वर्ष आइपुग्दासमेत बाह्य उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराको पर्यटनमा भएको लगानी नै जोखिममा परेको चिन्ता व्यवसायीले व्यक्त गरेका छन् । पर्यटक बढ्न थालेका बेला अन्तर्राष्ट्रिय उडान भइदिए त्यसले थप सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ ।पोखराको लेकसाइडमा विदेशी पर्यटक
पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा केही दिनअघि काठमाडौं पुगेर टोलीले आफ्ना माग प्रस्तुत गरेको हो । भेटमा प्रधानमन्त्री दाहालले भारत र चीनको औपचारिक भ्रमणका क्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकतामा राखेर विषय उठान गर्ने आश्वासन दिएका थिए ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलका अनुसार प्रधानमन्त्री दाहालले भारतसँग पोखरा आउने एयर रुट (हवाई प्रवेश मार्ग) का लागि कुरा राख्ने बताएका थिए । ‘आफैंले उद्घाटन गरेको विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान छिटो गर्नेमा उहाँ सकारात्मक हुनुहुन्छ,’ सिग्देलले भने, ‘छिट्टै निकास निस्कनेमा आशावादी छौं ।’ गत पुस १७ मा प्रधानमन्त्री दाहालले विमानस्थल उद्घाटन गरेका थिए ।
होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा आयोजित १८ औं फेवा नव वर्ष महोत्सवको उद्घाटनमा व्यवसायीले अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने माग गरे । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताए । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेका व्यवसायी जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाए । ‘व्यवसायीले त्यो अवस्थामा लगानी थपे तर कोरोना महामारी र आर्थिक मन्दीले अपेक्षाअनुसार पर्यटक आएनन्,’ उनले भने, ‘अब पुनर्कर्जा, भुक्तानी तालिकाको पुनर्तालिकीकरणको व्यवस्था नगरे, ब्याजदर एक अंकमा नघटाए व्यवसायी सडकमा आउने स्थिति छ ।’ यस्तो अवस्थामा पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भए मात्रै पनि राहत मिल्ने उनको भनाइ थियो ।