सुनको मूल्य अहिलेसम्मकै उच्च
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शनिबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो ।
शुक्रबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन शनिबार तोलामा एक हजार बढेको हो । दसैंअघि १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दसैंपछि बजार खुल्दा शुक्रबार र शनिबार दुई दिनमै १ हजार ५ सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य रुस र युक्रेनबीचको युद्धको असरले नै सुनको मूल्य वृद्धि भइरहेको बताउँछन् । युद्धका कारण प्रमुख स्टक मार्केट ओरालो लागेको हुँदा सुनमा लगानीकर्ताको आकर्षण बढेको उनको भनाइ छ । अध्यक्ष शाक्यका अनुसार सुनको मूल्य अझै बढ्ने सम्भावना छ । आर्थिक मन्दीका कारणले पनि सुनको मूल्य बढेको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएका कारण स्थानीय बजारमा पनि त्यसको असर परेको हो । छापावाल सुनको मूल्य १ लाख २० हजार नाघ्ने व्यवसायीहरुको अनुमान छ । मूल्य अकासिएका कारण पछिल्लो समय नेपाली बजारमा सुनको कारोबार घटेको छ । विगतमा दैनिक ३५-४० किलो सुन खपत हुने गरेकोमा अहिले २०-२५ किलोमा झरेको अध्यक्ष शाक्यले जानकारी दिए । गत माघमा प्रतितोला १ लाख ७ हजार पुगेको सुन त्यसयता खासै बढेको थिएन ।