विजनेस

विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

By: Date: 2023-05-31 2 min Read

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेपनि विकास बैंक र वित्त कम्पनीले भने घटाउने भएका छन् । मंगलबार बसेको बैठकले ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पाख्रेलले बताए ।

निक्षेपको सबै प्रोडक्टमा ०.१५ प्रतिशत बिन्दुका दरले ब्याजदर घटाउने निर्णय भएको उनले बताए । असोजदेखि राष्ट्रिय स्तरका विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत र बचतमा न्यूनतम ८ प्रतिशत ब्याज दिंदै आएका थिए । तर, अब १ मंसिरदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दा व्यक्तिगत मुद्दतीमा अधिकम १२.८५ प्रतिशत र बचतमा न्यूनतम ७.८५ र अधिकतम ९.८५ प्रतिशत ब्याजदर दिने उनले बताए ।

वित्त कम्पनीहरुले पनि हाल ३ महिनाको मुद्दती निक्षेपमा १३.२० प्रतिशत ब्याजदर दिंदै आएकोमा १ मंसिरदेखि १३ प्रतिशतमा झार्ने निर्णय गरेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । यस्तै १ वर्षको मुद्दती निक्षेपमा १३.४५ प्रतिशत रहेको ब्याजदर १ मंसिरदेखि १३.३० प्रतिशतमा झार्ने निर्णय भएको उनले बताए । बचतमा पनि अब न्युनतम ८.३० प्रतिशत ब्याजदर कायम हुने अध्यक्ष तुलाधरले बताए ।

सम्बन्धित खबर